एमालेभित्रको लडाईं पदीय होइन



डा. विजय पौडेल, पोलिटब्युरो सदस्य, एमाले

प्रायः मानिसहरुमा यहाँनेर एउटा भ्रम छ । जेठ २ भनेको सांगठनिक संरचनामा मात्रै फर्कने भनेको होइन । जेठ २ भन्दा अगाडिका प्रतिबद्धता र त्यसबखतका माइन्युटहरुलाई पनि अंगीकार गर्ने भनेको हो । त्यसभन्दा अगाडिका सहमतिहरुलाई कार्यान्वयन गर्ने भनेको हो । तत्कालीन अवस्थाको चुनावी घोषणापत्रलाई मुर्तरुप दिने भनेको हो । माओवादीसँग एकता गर्ने सहमतिलाई पालना गर्ने भनेको हो तर कतिपयले सांगठनिक संरचना पुनस्र्थापना भन्ने अधुरो बुझाइले झन् थप भ्रम सिर्जना ग-यो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) न विभाजन नै भएको छ न त एकीकृत हुन सकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग मिलेर देशलाई प्रतिगमनको ओरालो यात्रामा झार्न बल गरिरहेका छन् । यसै कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र अहिले एमालेमा भीषण बहस चलिरहेको छ । एकथरि एमाले युवा नेताहरु एमाले एमालेबीचमा निरपेक्ष एकता गर्नुपर्ने अडानका साथ एकताका लागि पहल गरिरहेका छन् । डा. विजय पौडेलसहित जगन्नाथ खतिवडा, प्रकाश ज्वाला अनि राजेन्द्र राई जस्ता एमाले युवा हस्तीहरु अजेण्डाका आधारमा एकता र ध्रुवीकरणका लागि पहल गरिरहेका छन् । सतहमा देखिने गरी एमालेभित्रको यो बहसले कस्तो परिणाम ल्याउला ? फुट्नै लागेको सत्तारुढ एमाले पार्टी फेरि एकताद्ध होला ? समयबद्ध साप्ताहिकका लागि एमालेका पोलिटब्युरो सदस्य, प्रखर युवा नेता डा. विजय पौडेलसँग शरद रिजालले जिज्ञासा राखेका थिए :


नेकपा (एमाले) को आन्तरिक एकताको सम्भावना अझै छ र ?

नेकपा (एमाले) निर्माणमा हाम्रो रगत पसिना बगेको छ । सिद्धान्त, विचार, आदर्श कम्युनिस्ट कार्यशैलीलाई तिलाञ्जली दिएर हनुमाने शैलीमा नेतृत्व स्वीकार्न सकिदैंन। एकता सैद्धान्तिक र वैचारिक पक्षमा जोड दिएर गर्ने प्रयत्न हाम्रो हो । ओलीले गरेका गलत क्रियाकलापहरुप्रति आत्मालोचित भएर माफी नमागेसम्म एकता सम्भव छैन । चोचोमोचो मात्र मिलाएर गरिने एकता सार्थक र दीर्घकालीन पनि हुँदैन ।

मुलतः पौष ५ गते प्रधानमन्त्री तथा पार्टीका एक अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि उनले प्रतिगमनको ओरालो यात्रामा मुलुकलाई लैजान खोजेको भन्दै तपाईंहरुले अभियान नै चलाउनु भयो । यसपछि पनि उनले यो कार्यलाई निरन्तरता दिइरहेका छन् । उनले आत्मालोचना गरेको देखिएको छैन । फेरि निरपेक्ष एकताका कुरा पनि भइरहेका छन् । प्रतिगमनको यात्रामा झन् तीब्र गतिमा जाने अनि एकताको कुरा ठूलो स्वरमा भनिरहँदा विरोधाभास भएन र ?

ओलीजीको कदम प्रतिगमनकारी हो भनेर हामीले हिजोमात्र होइन अहिलेसम्म भन्दै आइरहेका छौं । उहाँले पार्टीको बहुमतको सरकारलाई धरासायी बनाएर दक्षिणपन्थी गठबन्धन बनाएर जानुभएको छ, यसले त उहाँमाथि हामीले जे भनेका थियौं/छौं थप पुष्टि भएको छ । आफ्नो पार्टीको दुई तिहाईको सरकारलाई ध्वस्त गरेर जसरी उहाँ अगाडि बढ्नु भएको छ, यो कदमको हामीले विरोध गरेका हौं र गरिरहन्छौ । जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त समग्र प्रणालीलाई नै ध्वस्त गर्ने दिशामा गएपछि हामीले विरोध गर्नु अस्वाभाविक होइन ।

जहाँसम्म यहाँले भन्नुभयो कि प्रतिगमनको यात्रामा तीब्र गतिमा जाँदा एकता कसरी हुन्छ ? एमाले पार्टी आलीजीले मात्र निर्माण गरेको हो र ? पार्टीलाई यो स्थानसम्म ल्याउनमा सबैको योगदान छ । हिजो कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझीहरुले गद्दारी गर्दा रायमाझीलाई छाडेर हिडेको इतिहास छ त ! हामीले ओली प्रवृत्तिसँग आत्मसमर्पण गर्न खोजेको होइन । हिजो रायमाझी नेतृत्वमा हुँदा कम्युनिस्ट पार्टीमा रहेकाहरु सबै दरबारिया त भएनन नि ! रायमाझीलाई कारबाही गरेर कम्युनिस्ट पार्टी अगाडि बढ्यो । हामीले एमाले पार्टीलाई एकताबद्ध गर्न खोजेका हौं ।

तपाईहरुले ७५ जेठ २ को बटमलाइन नछोड्ने, प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरेपछि एकता कसरी सम्भव हुन्छ त ?

प्रायः मानिसहरुमा यहाँनेर एउटा भ्रम छ । जेठ २ भनेको सांगठनिक संरचनामा मात्रै फर्कने भनेको होइन । जेठ २ भन्दा अगाडिका प्रतिबद्धता र त्यसबखतका माइन्युटहरुलाई पनि अंगीकार गर्ने भनेको हो । त्यसभन्दा अगाडिका सहमतिहरुलाई कार्यान्वयन गर्ने भनेको हो । तत्कालीन अवस्थाको चुनावी घोषणापत्रलाई मुर्तरुप दिने भनेको हो । माओवादीसँग एकता गर्ने सहमतिलाई पालना गर्ने भनेको हो तर कतिपयले सांगठनिक संरचना पुनस्र्थापना भन्ने अधुरो बुझाइले झन् थप भ्रम सिर्जना ग¥यो ।

यहाँहरुले एकातिर काँग्रेस, माओवादीसहितको गठबन्धनलाई निरन्तरता दिदैं प्रदेशस्तरसम्म कायम गर्ने हिजो मात्रै सहमति गर्नु भएको छ । अब पनि एमालेको एकता हुने सम्भावना जीवितै छ र ?

एमालेको एकता र वाम गठबन्धनमा सामेल भएको कुरालाई द्वन्द्वात्मक रुपमा हेर्नुपर्छ । लोकतन्त्र र प्रणाली बचाउन गठबन्धन कायम गर्नुपरेको हो । पार्टी एकता एमालेको गर्ने भनिएको हो । ओली र माधव व्यक्तिबीचको होइन । एकताको आधार समाप्त पार्ने काम हामीले होइन, ओलीजीले गरिरहनु भएको छ । कर्णालीमा सर्वोच्चले पुनर्वहाली गरेका चार सांसदहरुको विरुद्धमा फेरि सर्वोच्चमा पुनरावलोकन दिदै पदमुक्त गर्ने प्रयत्न भएको सुनिएको छ । आफ्नै पार्टीका सांसदहरु विरुद्ध यसरी उत्रनु त एकताको संकेत पक्कै होइन नि !

अन्त्यमा, एमालेका कार्यकर्ताले यो विवाद विभाजनको स्तरसम्म पुग्ने सम्भावना औंल्याइरहेका छन् । के त्यस्तै हो ?

वास्तवमा यो कुनै पदीय लडाई या स्वार्थको अन्तरद्वन्द्व होइन । मुलतः प्रवृत्तिको लडाई हो । कम्युनिस्ट चरित्र र गैरकम्युनिस्ट चरीत्रबीचको यो द्वन्द्वमा कार्यकर्ताले सोही वमोजिमको धारणा बनाउनुपर्छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्दै सच्चा कम्युनिस्टहरु पुनः जोडिदै आन्दोलनको कार्यभारलाई नयाँ ढंगले वहन गर्दै जानु नै अहिलेको परिप्रेक्षमा कार्यकर्ताले बोध गर्नुपर्ने मूल विषय हो । यही धारणाले निराश होइन नयाँ आधारमा पुनः एकता गर्दै कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउँदै अघि बढ्नु नै श्रेयस्कर हुन्छ । समयबद्ध साप्ताहिकबाट