काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन अपिल गरेका छन् । देशका प्रमुख दलहरू र तिनका नेताहरू बीचको अनावश्यक टकराव, महत्त्वाकांक्षा र व्यक्तिगत इगो साँध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने उनले बताए । उपचारका लागि भारतको राजधानी दिल्ली जानुअघि एक अपिल प्रकाशित गर्दै खनालले पार्टीलाई फुटतर्फ धकेल्न नहुने बताएका हुन् ।
‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौं भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु,’ खनाललेअ पिलमा भनेका छन् ।
‘उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याका कारण डाक्टरहरूको सल्लाहमा म आज केही दिनका लागि देशबाहिर जाँदैछु । मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छु । सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरूमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,’ खनालले भनेका छन् ।
खनालको स्वास्थ्यमा के-के छ समस्या?
उनी साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका छन्। नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको थियो।
लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई दुई दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार गरिएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको फोक्सोमा पानी जमेको देखिएको छ।
फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको नर्भिकले जनाएको छ। उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो।
उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन। उनको पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो।
खनाललाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो। हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो।
दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले लिन नसकेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो।
दिल्ली उड्नुअघि उनमा निरन्तर खोकी लागिरहेको थियो।
‘शरीर समेत शिथिल देखिन्थ्यो, उहाँ कामिरहनुभएको थियो। चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्,’ नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले भने।
नेता खनालमा मिर्गौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरू देखिएको उपचारमा संलग्न डा. ब्रजेन्द्र श्रीवास्तवले बताए।